NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

स्वारेजले छाने विश्वकप जित्न सक्षम ३ राष्ट्र, प्रमुख प्रतिद्धन्द्धी नै पहिलो दाबेदार

काठमाडौं । कतारमा विश्वकप फुटबल सुरु हुन ठीक २ महिना बाँकी रहँदा सम्भावित विजेताबारे विभिन्न अनुमान भइरहेका छन् ।

यसैबीच, युरोग्वेयन स्ट्राइकर लुइस स्वारेजले पनि विश्वकप दाबेदारबारे आफ्नो धारणा राखेका छन् ।

हालै एक अन्तर्वार्तामा स्वारेजले विश्वकपको प्रमुख दाबेदार टोली छान्दा आफ्नै देशको प्रमुख प्रतिद्धन्द्धी अर्जेन्टिनाको नाम दिएका छन् ।

‘यसपटक कतारमा अर्जेन्टिना उपाधिको प्रमुख दाबेदार टोली हुने मैले ठानेको छु,’ उनले भनेका छन् ।

लियोनल मेसीको अर्जेन्टिनाले यसअघि नै विश्वकप जितिसक्नुपर्ने भए पनि भाग्यले साथ नदिएको स्वारेजको भनाइ छ ।

दक्षिण अमेरिकी फुटबलमा अर्जेन्टिना आफ्नो देश उरुग्वेको प्रमुख प्रतिद्धन्द्धी भए पनि योपटक मेसीले विश्वकप उठाए आफू खुसी हुने उनले स्पष्ट पारे ।

स्वारेज र मेसी स्पेनिस क्लब बार्सिलोनामा खेल्दाका मिल्ने साथी हुन् । उनीहरूबीच अहिले पनि घनिष्ठ सम्बन्ध रहँदै आएको छ ।

स्वारेजले अर्जेन्टिनापछि युरोपियन देश बेल्जियम र दक्षिण अमेरिकी देश ब्राजिललाई विश्वकप जित्ने प्रमुख दाबेदार रहेको बताए ।

स्वारेजले साविक विजेता फ्रान्स, इंग्ल्याण्ड, स्पेन, पोर्चुगल, जर्मनीजस्ता धेरैले दाबेदार मानेका टोलीको भने नामसमेत लिएनन् ।

अर्को स्पेनिस क्लब एट्लेटिको म्याड्रिडबाट यसै सिजन आफ्नै देशको क्लब नासिओनल गएका स्वारेजले आफूले अन्तिम विश्वकप खेल्न लागेको स्पष्ट पारेका छन् ।

विश्वकपमा उनको टोली उरुग्वे कठिन समूहमा परेको छ । उरुग्वेको समुहका क्रिस्टियानो रोनाल्डोको पोर्चुगल, एसियाली महारथी दक्षिण कोरिया र अफ्रिकी टोली घाना छन् ।

स्वारेजले आफ्नो देश उरुग्वेलाई सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा सेमिफाइनलसम्म पुर्याउन प्रमुख योगदान दिएका थिए ।

अर्जेन्टिनी मास्चेरानोका नजरमा ब्राजिल विश्वकपको छैटौंमात्रै दाबेदार, के छ जर्मनी र पोर्चुगलको अवस्था ?