NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

घरेलु मैदानमा अप्रत्यासित नतिजा ब्यहोरेको स्पेनलाई पोर्चुगलमा जित्दैपर्ने दबाब

काठमाडौं । स्पेनले युरोपियन नेसन्स लिग फुटबलमा स्पेनले घरेलु मैदानमै अप्रत्यासित हार ब्यहोरेको छ ।

गएराति जारागोजामा भएको खेलमा स्पेनले स्विट्जरल्याण्डसँग २–१ गोल अन्तरको अप्रत्यासित हार ब्यहोर्यो ।

खेललको २१ औं मिनेटमा म्यानुएल एकान्जीले गोल गर्दै पाहुना टोली स्विट्जरल्याण्डलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, खेलको ५५ औं मिनेटमा जोर्डी अल्बाले गोल गर्दै स्पेनलाई १–१ गोलको बराबरीमा ल्याए ।

यद्यपि, खेलको ५८ औं मिनेटमा ब्रेल एम्बोलोले गोल गर्दै स्विट्जरल्याण्डलाई २–१ को जित दिलाए ।

स्पेन चार वर्षपछि पहिलो पटक घरेलु मैदानमा पराजित भएको हो ।

यस हारसँगै लिग ए समूह २ मा रहेको स्पेनले ५ खेलमा ८ अंक जोडेको छ ।

स्पेन दोस्रो स्थानमा रहेको छ । गएराति चेक रिपब्लिकसँग ४–० को फराकिलो जित निकाल्दै क्रिस्टियानो रोनाल्डोको पोर्चुगल पहिलो स्थानमा उक्लिएको छ ।
पोर्चुगलले ५ खेलबाट १० अंक जोडेको छ । यस्तोमा पोर्चुगल स्पेनभन्दा २ अंगले अगाडि छ ।

सेप्टेम्बर २८ मा स्पेन र पोर्चुगलबीच निर्णायक खेल हुनेछ । पोर्चुगलकै मैदानमा हुने उक्त खेलमा जित निकालेमात्र स्पेन सेमिफाइनलमा पुग्नेछ । खेल बराबरीमात्र भए पनि पोर्चुगलले सेमिफाइनलको यात्रा तय गर्नेछ ।

पछिल्लो समय लयको रहेको पोर्चुगललाई घरेलु मैदानको पनि फाइदा हुने देखिन्छ । यसर्थ, स्पेनको सेमिफाइनल यात्रा केही कठिन देखिएको छ ।

नेसन्स लिगका अहिलेका खेलहरूलाई २ महिनापछि कतारमा हुन लागेको विश्वकपको तयारीका रुपमा समेत हेरिएको छ । यस्तोमा स्पेनले विश्वकपको तयारी पनि खराब गरेको छ ।

स्पेनविरुद्ध जित हासिल गर्नका बाबजुद स्विट्जरल्याण्ड ६ अंक जोडेर तेस्रो स्थानमा मात्र छ । रेलिगेसन जोनमा रहेको चेक रिपब्लिकले ४ अंक मात्र जोडेको छ ।

विश्वकपको दाबेदार मानिएको इंग्ल्याण्ड नेसन्स लिगको रेलिगेसनमा