NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

श्रीलंका : हिंसा वा आगजनी गरेको देख्नेबित्तिकै गोली चलाउन आदेश

कोलम्बो । श्रीलंकाको रक्षा मन्त्रालयले मंगलबार साँझ सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने वा जीवनलाई खतरामा पार्ने व्यक्तिलाई गोली हान्न आदेश जारी गरेको छ । अहिलेसम्मकै सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको श्रीलंकामा प्रदर्शन हिंसात्मक बन्दै गएको छ र यसले दंगाको रूप लिइरहेको छ ।

देशको रक्षा मन्त्रालयका प्रवक्ता नलिन हेर्थले भने, ‘सार्वजनिक सम्पत्ति लुट्ने वा मानव जीवनमा क्षति पुर्‍याउने जोसुकैलाई देख्नेबित्तिकै गोली हान्न सुरक्षा बललाई आदेश दिइएको छ ।’

मंगलबारमात्रै आन्दोलनकारीको एक समूहले सत्तारुढ दलका नेताहरुको घरमा निशाना बनाएर आगजनी गरेको थियो । राष्ट्रपतिको सरकारी निवास वरपरका क्षेत्रमा समेत आगजनी गरिएको थियो । हिंसा हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै देशको सेना र प्रहरीलाई आपतकालीन अधिकार दिइएको छ ।

सेनाका लागि यी नयाँ आपतकालीन अधिकारमा सेनाले पक्राउ गरेका व्यक्तिलाई २४ घण्टा हिरासतमा राख्न सक्ने र निजी सवारीसाधनलगायत व्यक्तिगत सम्पत्तिमा जुनसुकै बेला खानतलास गर्न सक्नेछ । कडा सुरक्षाका बीचमा उनी परिवारसहित सेनाको शिविरमा बस्दै आएका छन् ।

श्रीलंकामा एक महिना लामो शान्तिपूर्ण प्रदर्शन मंगलबार हिंसामा परिणत भयो । राजपाक्षे परिवारका समर्थकहरूले उनीहरूविरुद्ध प्रदर्शन गरिरहेका मानिसहरूलाई आक्रमण गर्न थालेपछि प्रदर्शन हिंसात्मक बनेको हो ।

यसरी जलाइयो श्रीलंकामा प्रधानमन्त्रीको घर

श्रीलंका : प्रदर्शनकारीले प्रधानमन्त्रीसहित १२ मन्त्रीको घर जलाए