NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

सत्ता गठबन्धनबीच तालमेल भए पनि काठमाडौं ४ मा गगनलाई चुनाव जित्न कसरी हुँदैछ कठिन ?

काठमाडौं । स्थानीय तहको निर्वाचनपछि अब मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा धेरैको आँखा छ । मंसिरको पहिलो साता निर्वाचन हुने तयारी भइरहेको छ । तर अघिल्लोपटक जस्तै यसपटक पनि चुनावी माहोल फरक हुने देखिएको छ ।

२०७४ सालको निर्वाचनमा एमाले र माओवादी मिलेर चुनाव लड्दा कांग्रेस २३ सिटमा सीमित भएको थियो । यसैले यसपटक पनि चुनावी तालमेल सबै दलका लागि बाध्यकारी भइदिएको छ । चुनावमा तालमेल नगरी एक्लाएक्ला चुनावमा गए तेस्रो चौथो दलमात्र होइन एमाले र कांग्रेसकै प्रभावशाली नेताहरू पनि जोखिममा देखिनेछन् ।

स्थानीय तहको निर्वाचन २०७९ मा दलहरूले वडाध्यक्षमा पाएको मतको विश्लेषण गर्दा प्रभावशाली नेतालाई यसपटक प्रतिनिधिसभामा चुनाव जित्न गाह्रो पर्ने देखिएको हो । यस्तो गाह्रो पर्ने नेतामा माओवादी अध्यक्ष प्रचण्डदेखि कांग्रेस नेता गगन थापासहितका नेता छन् ।

गगनलाई पनि सहज छैन

गगन थापाले २०७४ सालको निर्वाचन काठमाडौं ४ बाट जितेका थिए । थापाले एमालेका राजन भट्टराईलाई ३४१८ मतले पराजित गरेका थिए । थापाले २१५५८ मत ल्याउँदा भट्टराईले १८१४० मत ल्याएका थिए । तर यसपटकको स्थानीय तहको निर्वाचनमा काठमाडौं ४ का वडाहरूमा वडाध्यक्षले पाएको मतको आधारमा विश्लेषण गर्दा प्रतिनिधिसभामा कांग्रेस मतका आधारमा एमालेभन्दा पछाडि देखिएको हो ।

गगन थापाको यो क्षेत्रमा एमालेले १६५०७ मत ल्याएको छ । कांग्रेसको १५७६३ मत आएको छ । नेकपा एसले २४१४, राप्रपाले २२९३ र माओवादीले ८४४ र जसपाले ३१७ मत प्राप्त गरेका छन् ।

थापाको क्षेत्रमा एमालेभन्दा कांग्रेस ७४४ मतले पछाडि परेको देखिएको छ । यसैले चुनाव जित्नका लागि थापालाई चुनावी गठबन्धन आवश्यक देखिएको हो । एक्लाएक्लै चुनावमा जाँदा थापा पराजित हुने देखिन्छ ।  सत्ता गठबन्धनका नेकपा एस र माओवादीको समर्थन हुँदा पनि गगनले साँघुरो मतले जित्न सक्ने देखिन्छ । यो क्षेत्रमा एमालेविरुद्ध सत्ता गठबन्धन एक ठाउँमा उभिँदा गगनलाई यसपटक प्रतिस्पर्धा गर्न कठिन हुने देखिएको हो ।

किनकी एमालेको मतभन्दा कांग्रेसको मत ७४४ घटी छ । निर्णायक हुन सक्ने नेकपा एस, माओवादी, राप्रपा र जसपाको मत ६ हजार हाराहारी छ । यस्तोमा राप्रपाले कांग्रेसलाई समर्थन गर्ने सम्भावना कम छ । राप्रपा बाहेकका नेकपा एस, माओवादी र जसपाले कांग्रेसलाई समर्थन गरे पनि यो क्षेत्रमा एमाले २८ सय मतले मात्रै पछि पर्न सक्ने देखिएको छ ।

कांग्रेसको पक्षमा गठबन्धन बन्दा नेकपा एसको सबै मत गगन थापालाई नखस्न सक्छ । यसमा पनि स्वतन्त्रका उम्मेदवार उठे भने पनि गगनलाई आउँन सक्ने मत पनि काटिन सक्नेछ ।

यसैले यसपटक परम्परागत क्षेत्रमा गठबन्धन बन्दा पनि गगनलाई चुनाव जित्न कठिन हुने देखिएको हो ।

एमालेलाई राप्रपाले सहयोग गरे १८९२१ मत पुग्नेछ । तर कांग्रेस उम्मेदवारलाई नेकपा एस, माओवादी र जसपाले सहयोग गरे मुस्किलले १९ हजार कट्नेछ । तालमेलमा नेकपा एसको पूरै मत थापाको पक्षमा झर्ने देखिंदैन । त्यसैले यसपटक चुनावी गठबन्धन बने पनि गगनलाई काठमाडौं ४ मा चुनाव जित्न निक्कै कठिन पर्न सक्ने स्थानीय तहकाे निर्वाचन परिणामले देखाएकाे हाे । यसैले अत्याधिक मेहनत भएमात्रै गगनले यसपटककाे चुनाव जित्नेछन् । अन्यथा प्रधानमन्त्री बन्ने दाबी गरेका थापा प्रतिनिधिसभा क्षेत्रमा नै पराजित हुन सक्नेछन् ।

चुनावी तालमेलले गठबन्धन धर्मसंकटमा : प्रभावशाली नेताले नै टिकट नपाउने पक्का

चितवनबाट प्रचण्ड हार्ने हिसाबकिताब यस्तो छ

२०७४ को चुनाव : यी हुन् ५० हजार बढी लोकप्रिय मत ल्याएर जित्नेहरू

कांग्रेसले एक्लै चुनाव लड्दा ५ हजारभन्दा कम मतान्तरले गुमाएका ४० सिट कुन–कुन हुन् ?