NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

लोकसेवाका यी दश प्रश्नको उत्तर कसरी लेख्ने ? सहसचिव दाहालको टिप्स

जनतामा विश्वास देखिन्छ–लोकसेवा आयोग निष्पक्ष छ । त्यसैले निजामती सेवाका लागि आवश्यक कर्मचारी नियुक्त गर्न यसले लिने परीक्षाप्रति आकर्षण छ । इमान्दारीपूर्वक अध्ययन गरेर लोकसेवा उत्तीर्ण भई सेवा प्रवेश गर्ने सपना धेरैको हुन्छ । उचित तयारी र प्रस्तुति परीक्षाका अनिवार्य सर्त हुन् । यही सन्दर्भलाई ध्यानमा राखी नेपालवाच डटकमले पूर्वप्रशासक, प्रशासक र विषयविज्ञबाट समाधान पहिल्याउने प्रयास थालेको छ । आजको श्रृंखलामा नेपाल सरकारका सहसचिव प्रकाश दाहालले लोकसेवा सोधिने प्रश्नका उत्तर लेख्ने विधि र त्यसमा समेट्नुपर्ने विषयबारे प्रष्ट पार्नुभएको छ ।

१. वर्तमान संरचनामा प्रदेश र स्थानीय राजस्व अधिकार परिचालन भनिएको छ । बजारमा उपलब्ध सबै किताबमा एकरूपता पाइँदैन, कसैमा संविधानको धारा नै उल्लेख गरेका छन् त कसैमा टेबल बनाएर । यसलाई कसरी लेख्दा परीक्षामा प्रभावकारी होला ?

विषयवस्तुलाई प्रस्तुत गर्ने आ–आप्mना शैली हुन सक्छन् । प्रदेश र स्थानीय तहको राजस्व अधिकार, संविधानको धारा उल्लेख गरेर बुँदागत रूपमा लेख्दा वा तुलनात्मक रूपमा टेबलमा लेख्दा दुवै सही नै हुन्छ । मुख्य कुरा, जुन शैलीमा लेखे पनि संविधानका व्यवस्थामा आधारित भएर लेख्नु पर्छ । टेबलमा लेख्ने हो भने पृष्ठभूमिमा संविधानका भाग र धारा उद्धृत गर्नुपर्छ । विषयवस्तुलाई भने टेबलभित्र राख्न सकिन्छ वा तेस्रो विकल्पको पृष्ठभूमिमै भाग र धारा उद्धृत गरी व्यवस्थाहरूलाई प्रदेश र स्थानीय तहमा छुट्याइ बुँदागत रूपमा मात्र लेख्न पनि सकिन्छ ।

२. नेपालको भौगोलिक वातावरणले जनजीवन र हावा पानीमा पारेको प्रभावको उत्तर एउटै ढाँचाबाट लेख्दा होला वा फरक ढाँचाबाट लेख्दा राम्रो होला ?

नेपालको भौगोलिक वातावरण र हावापानी भौगोलिक स्थान अनुसार फरक फरक रहेको र प्रत्येक स्थानको भिन्न वातावरण वा हावापानीको सकारात्मक र नकारात्मक दुवै खाले प्रभाव हुने हुँदा भौगोलिक वातावरण र हावापानीको वर्गीकरण अनुसार प्रत्येकको सकारात्मक र नकारात्मक प्रभाव लेख्नु पर्छ । तर समाय व्यवस्थापनलाई ध्यान दिई सिधै बुँदागत रूपमा र प्रत्येकको सकारात्मक प्रभाव ३÷४ वटा र नकारात्मक प्रभाव ३÷४ वटा बुँदामा मात्र लेख्नु पर्छ ।

३. द्वन्द्व व्यवस्थापन गर्ने तरिका र प्रक्रिया एउटै हो ? किताबमा समग्रहमा लेखेको भेटिन्छ र कुनैमा छुट्टा –छुट्टै लेखेको हुन्छ । वास्तवमा कुन राम्रो हो ?

द्वन्द्व व्यवस्थापनको तरिका भन्नाले यसका विधी, ढाँचा, उपाय वा रणनीतिलाई बुझिन्छ भने यसको प्रकृया भन्नले द्वन्द्व व्यस्थापनका क्रमवद्ध क्रियाकलाप, विधि वा चरणलाई बुझिन्छ । त्यसैले द्वन्द्व व्यवस्थापनका तरिका र प्रक्रिया फरक फरक कुरा हुन् ।

४. कुनै पनि प्रश्नको अवधारणा प्रष्ट पार्नुहोस् भन्ने प्रश्नमा सबै किताबमा एउटै उत्तर भेटिंदैन । कुनैमा परम्परागत , आधुनिक त कुनैमा विकासक्रमका रूपमा लेखेको हुन्छ । उत्तर कसरी लेख्ने यसको ?

अवधारणा भनेको बुझाइ, धारणा, अर्थ वा विचार हो । त्यसैले कुनै पनि विषयको अवधारणा लेख्दा त्यो भनेको के हो भनी सोको अर्थ, परिचय वा परिभाषा, विशेषता, क्षेत्र, मान्यताजस्ता कुराहरू समेटिनु पर्ने हुन्छ । अन्तिममा एक दुई वाक्यमा सो अवधारणाको उत्पत्ति र विकासक्रमसमेत लेख्नु राम्रो हुन्छ ।

५. उत्तर लेख्दा शीर्षक राखेर लेख्दा राम्रो भन्छन् । केहीको राख्ने वा केहीको नराख्ने गर्दा अङ्कमा फरक पर्छ कि पर्दैन ?

उत्तर लेख्दा प्रश्नले मागेका विषयवस्तुको अलग अलग शीर्षक दिएर लेख्नाले उत्तरमा सबै पक्ष सन्तुलित रूपमा समेटिने र कुनै पनि कुरा नछुट्ने हुन्छ । त्यसैले सम्भव भएसम्म सबै प्रश्नको उत्तर शीर्षक छुट्याई लेख्नु राम्रो हुन्छ । तर कुनै प्रश्नको शीर्षक छुट्याउन सकिएन भने कुनै उत्तर शीर्षक छुटयाएर र कुनै नछुट्याएर लेख्दा पनि फरक पर्दैन ।

६. शीर्षक राख्दा अंगे्रजीबाट लेख्दा केही फरक पर्छ कि पर्दैन ? त्यसैगरी उत्तरको बीचमा पनि अंग्रेजी शब्द लेख्न हुन्छ कि हुँदैन ?

उत्तर लेख्दा माध्यम भाषा नेपाली बनाउनुहुन्छ भने बीच बीचमा आवश्यक भएको अवस्थामा अंग्रेजी शब्दहरू लेख्न सकिन्छ । त्यसैगरी बढी उपयुक्त लागेको अवस्थामा शीर्षक उपशीर्षकहरूसमेत अंग्रेजीमा लेख्न सकिन्छ । यद्यपि, अनावश्यक र भद्दा लाग्ने ढंगले अंग्रेजी शब्दहरूको प्रयोग गर्नाले भने उत्तरलाई अनाकर्षक बनाउँछ ।

७. रोगको परिचय दिई यसको मानसिक ,शारीरिक , सामाजिक आयामको चर्चा गर्नु होस् ? आयाम भन्नाले के बुझिन्छ ?

यो प्रश्नमा आयाम भनेर पक्षलाई भनिएको हो । त्यसैले यस प्रश्नमा रोगले व्यक्तिको मानसिक, शारीरिक र सामाजिक पक्षमा कस्तो असर पार्छ लेख्नुहोस भन्न खोजेको हो ।

८. सार्वजनिक खरिद ऐनको विशेषताहरू लेख्नु भनेको प्रश्नमा कस्ता कुरा लेख्नुपर्छ ?

कुनै पनि ऐनको विशेषता लेख्दा त्यस ऐनले प्रस्तावनामा उल्लेख गरेका विषयहरू र ऐनका प्रमुख व्यवस्थाहरूकै आधारमा लेख्नुपर्ने हुन्छ । यसभित्र उद्देश्य, सिद्धान्त, मान्यता, विशिष्ट व्यवस्था, क्षेत्र, लक्षित वर्ग वा समुदाय, कार्यान्वयन संयन्त्र, विगतका यस्तै ऐनका तुलनामा वर्तमान ऐनमा भएका नयाँ र महत्त्वपूर्ण व्यवस्था आदि कुराहरूलाई समेट्न सकिन्छ ।

९. सामाजिक सुरक्षाका अंगअन्तर्गत के–के पर्दछन् ?

सामाजिक सुराक्षाका अंगमा सामाजिक सहायता, सामाजिक बीमा र श्रमबजार कार्यक्रम गरी तीनवटा विषयहरू पर्दछन । सामाजिक सहायतामा सरकारलेबिना योगदान निश्चित मापदण्ड पूरा गरेका व्यक्तिहरूलाई तोकिएअनुसारको सहायता प्रदान गर्दछ । सामाजिक बीमामा व्यक्तिको योगदानका आधारमा वा सरकारले व्यक्तिको योगदानबिना नै अग्रिम रूपमा कोषको व्यवस्था गरेर परेको अवस्थामा त्यस्तो कोषबाट सुरक्षा उपलब्ध गराउँछ । त्यसैगरी श्रमबजार कार्यक्रम अन्तर्गत सरकारले सामाजिक सुरक्षाको सुनिश्चितताका लागि व्यक्तिलाई श्रम गर्न लगाई नगद हस्तान्तरण गर्ने व्यवस्था मिलाउने गर्दछ ।

१०. प्रश्नको शीर्षकमाथि समीक्षा गर्नुहोस् भनेमा कसरी उत्तर लेख्न सकिन्छ ?

समीक्षा गर्नुहोस् भन्ने प्रश्नको उत्तर लेख्दा सम्बन्धित विषयका सम्बन्धमा विद्यमान व्यवस्थाको संक्षेपमा चर्चा गरी त्यसबाट प्राप्त उपलब्धि र त्यसमा रहेका कमजोरी वा समस्याहरूलाई बुँदागत रूपमा लेख्नु पर्छ । समीक्षा गर्दा अलग्गै मागेको अवस्थामा बाहेक सुझाव दिइरहनु भने पर्दैन ।

(हामीले सुरु गरेको यो श्रृंखला तपाईंलाई कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला । अनि तपाईंसँग पनि लोक सेवा परीक्षासँग सम्बन्धित कुनै जिज्ञासा, अन्याेलता छन् कि ? यदि छन् भने हाम्रो इमेल ठेगाना [email protected] मा त्यसबारे लेखी पठाउनुहोला । प्राप्त उपयुक्त जिज्ञासा अनुभवी प्रशासक र पूर्वप्रशासकसमक्ष राखेर उहाँहरूले पहिल्याएकाे समाधान यहाँहरूसमक्ष पस्किने छौं ।)

मानव संसाधन व्यवस्थापन, यसका विशेषता र कार्यहरू

सरकारको भूमिका र कार्यक्षेत्रमा विकसित अवधारणाबारेकाे प्रश्नमा उपमहालेखा नियन्त्रक बरालको समाधान

लोकसेवाका यी प्रश्नको उत्तर कसरी दिने ? यस्तो छ सहसचिव दाहालको टिप्स

पदसोपान पद्धतिका मान्यता र निर्णय प्रक्रियाबारे सहसचिव पाण्डेको समाधान

निजामती प्रशासनमा व्यावसायिकता विकासको प्रश्न, उपमहालेखा नियन्त्रक बरालको समाधान

https://www.nepalwatch.com/2022/09/04/77195 

पाठक प्रश्नमा पूर्वसचिव शिशिर ढुंगानाको समाधान