NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

पाँच वर्षमा मेयर विद्यासुन्दरको काम : सपना देखाएर आशाको चीरहरण

१०० दिनमा गर्ने भनिएका काम १८२५ दिनमा पनि अलपत्र

काठमाडौं । साविकका स्थानीय निकायलाई स्थानीय सरकारमा परिणत गर्दै देश संघीयतामा गयो । शासन प्रणालीमा आएको यो परिवर्तनलाई सिंहदरबार नै गाउँ गाउँ पुगेको रूपमा लिन थालियो । केन्द्रबाट राज्यका धेरै अधिकार स्थानीय तहमा पुग्यो । त्यो अधिकार सिंहदरबारबाट बागदरबार पनि सरेको थियो ।

शासन प्रणालीमा भएको पुर्नसंरचनासँगै वषौंदेखि जनप्रतिनिधिविहीन अवस्थामा रहेका स्थानीय तहले शक्तिशाली नयाँ नेतृत्व पाउने भए । जसले आफ्नो स्थानीय तहलाई कस्तो बनाउने भन्ने पूर्ण अधिकार र क्षमता राख्थ्यो ।

काठमाडौं महानगरबासीले पनि आफ्नो महानगरपालिकाबाट यस्तै आशा राखेका थिए । महानगर चुनावको मिति घोषणा भयो । महानगरको नेतृत्वका लागि २८ जनाले उम्मेदवारी दिएका थिए ।

त्यसमध्ये हालका नगरप्रमुखले देखाएको सपनाको चाङ अरुको भन्दा उन्नत र उम्दा थियो । भावी नगरप्रमुखले प्रतिवद्धता जनाएको महानगर विकासको मोडलले महानगरवासीको अनुहार उज्यालिएको थियो । आशाले भरिएको त्यही उज्यालो अनुहारका मतदाताको मतले नगरप्रमुखमा विद्यासुन्दर शाक्य विजयी भए । करिब पाँच वर्षदेखि उनी काठमाडौं महानगरपालिकाको मेयरमा आसिन छन् । आफ्नो कार्यकाल पूरा गर्न उनीसँग करिब पाँच महिनामात्र समय बाँकी छ ।

अपाङ्गता भएका र बालबालिकालाई बसमा नै शौचालय बनाउने सपना देखाएका मेयरको नगरमा आउँदा जनताले पैसा तिरेर पिसाब फेर्ने शौचालयसमेत पाउँदैनन् ।

पुग–नपुग यो पाँच वर्षमा ती जनतालाई देखाइएको सपनाले कति खुट्टा टेके त ? देशको मात्र होइन, रोलमोडलको भूमिकामा उभिनुपर्ने महानगरमा त्यो निम्न वर्गका जनताको जीवनस्तर अहिले कहाँ छ ? के साँच्चै सहज भइसक्यो त त्यो वर्गका जनताको जीवनस्तर ?

यस अवधिमा महानगरप्रमुखका अगाडि एउटा भयङ्कर प्रश्न उभिएको छ, यसबीचमा महानगरप्रमुखका हैंसियतमा शाक्यले गर्व गर्न लायक के–के कार्य गरे ?

निर्वाचनमा जाँदा विद्यासुन्दरले सय दिनभित्र गर्छु भनेको कामको फेहरिस्त नै १०१ बुँदा थिए । तर त्यो एक सय दिन होइन, एक हजार ८२५ दिनमा पनि पूरा भएन ।

१०१ दिनमा गर्ने भनेको काम ५ वर्षमा पनि पूरा भएन

०७४ सालको स्थानीय चुनावअगाडि महानगरको नेतृत्व गर्न चाहनेहरूले आ–आफ्नो पाँच वर्षे कार्यकालको योजना सार्वजनिक गरेका थिए । सबैले काठमाडौंलाई सुन्दर बनाउने सपना देखाए । यहाँ व्याप्त भोक र शोक अन्त्य गर्ने सपना देखाए । ती सपनाले यहाँका नगरवासी निकै आशावादी थिए ।

एमालेका तर्फबाट मेयरको उम्मेदवारी दिने क्रममा विद्यासुन्दरले पनि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरे । उक्त घोषणा पत्रमा मेयरको चुनाव जिते ‘सय दिनमा १०१ काम’ गर्ने घोषणा गरे ।

उक्त घोषणापत्रमा विद्यासुन्दरले काठमाडौंलाई सुन्दर मात्र होइन यहाँका मानिस भोक र शोकमा नपरुन् भनेर ‘भोकरहित जनता शोकरहित महानगर’ बनाउने नारा सार्वजनिक गरे ।

शाक्यको घोषणापत्र साँच्चै प्रशंसनीय थियो । उनको अर्को योजना थियो सुपथ मूल्यको ‘मेयर फुड पार्लर’ खोल्ने प्रक्रिया थालिने । जहाँ भोक टार्न मुस्किल परेका नागरिकले सुपथ मूल्यमा खाना पाउने थिए ।

विद्यासुन्दर यतिमा मात्रै रोकिएनन् । उनले एकसय दिनमा जन्मदेखि मृत्युसम्म चाहिने सामग्री सहितको ‘मिनी असन बजार’ निमार्ण गर्ने घोषणा गरे । यी केही उदाहरण हुन् ।

नभन्दै विद्यासुन्दर मेयरमा निर्वाचित भए । तर १०० दिनमा पूरा गर्ने भनिएका १०१ काम भने कार्यकालको पाँच महिना मात्रै बाँकी हुँदा पनि पूरा भएको छैन ।

केही दिनअघि मात्रै भरी फलफूलको क्रेट महानगर प्रहरीबाट खोसिएका एक सडकव्यापारी भन्छन्, ‘महानगरले हाम्रो क्रेटको मात्रै होइन, हाम्रा सपनाको पनि लिलामी गर्दैछ ।

यो पाँच वर्षमा न त भोका जनताले ‘मेयर फुड पार्लर पाए, न त साना व्यापारीले मिनी असन बजार’मा व्यापार गर्न नै पाए ।

विपन्न, असहाय र विभिन्न कारणले बिचल्लीमा परेका नागरिकहरूलाई पनि विद्यासुन्दरले उच्च प्राथमिकतामा राख्ने सपना देखाएका थिए । उनले आवश्यकताअनुसार आवास, स्वास्थ्य उपचार तथा परिवारसँग समन्वय गरी तत्काल उद्धार कार्य प्रारम्भ गर्ने बताएका थिए । तर उनको त्यो वाचा पनि पूरा भएन । उनी आफैँले बाँडेको सपना भुलेर आफ्नो महानगरमा दैनिक गुजारा गर्न सडकमा आएका मानिसको स–साना सपना अपहरण गर्दैछन् ।

अचम्मको सियोदेखि रेलसम्मका सपना

चुनावी घोषणा पत्रमा उनले गरेको अर्को प्रतिवद्धता थियो– घर–घरमा अचम्मको सियोदेखि रेलसम्मका सपना देखाएका थिए । उनको प्रतिवद्धतामा साइकल सिटी पनि थियो । भएका सवारी साधनको व्यवस्थापन गर्न सकेको छैन । कतै पार्किङ नभएर तनाव, कतै जताततै पार्किङ गरेर सहर नै अस्तव्यस्त, रेलको सपना त कता हो कता !

विद्यासुन्दरको प्रतिवद्धताको छैटौँ नम्बरमा काठमाडौंलाई साइकल सिटीको रूपमा विकास गर्ने योजना थियो । छिमेकी महानगरहरूमा साइकललेन बने, तर यहाँ भने यो मुद्धामा पनि प्रगति शून्य छ ।

उनी मेयर हुनुपूर्व नै माइतीघरदेखि तीनकुनेसम्म बनेको साइकल लेन प्रयोगमा ल्याउनसमेत सकेनन् । उक्त लेनमा भइरहेका अव्यवस्थित पार्किङ हटाउन नसक्दा र ठाउँ–ठाउमा मर्मत नभएको कारण साइकल लेन सञ्चालनमा आउन सकेको छैन ।

अस्तव्यस्त पार्किङ

महानगरभित्रको प्रमुख समस्या मध्ये एक हो पार्किङ । अव्यवस्थित पार्किङलाई पनि उनले एकसय दिनभित्रै व्यवस्थित गर्ने चुनावी घोषणापत्रमा उल्लेख गरेका थिए । प्रतिबद्धता पत्रमा ‘स्मार्ट भर्टिकल कार पार्किङ’ सुरुवात गर्ने घोषणा थियो । यति मात्रै होइन निजी सवारीबाहकलाई महानगरका विशेष स्थानहरूमा ‘निःशुल्क सवारी क्षेत्र’ घोषणा गर्ने पनि उल्लेख थियो । उनले जतिपछि पाइने धेरै सुविधामध्ये एक निःशुल्क तथा स्मार्ट पार्किङको सुविधा पाउने पनि मतदाताले अपेक्षा थियो । तर यो पाँच वर्षमा पनि जनताले न त सहज पार्किङ नै पाए, न त निःशुल्क सवारी क्षेत्र नै । बरु उल्टै पार्किङको प्रतिघण्टा ८० रुपैयाँसम्म तिर्नु पर्दा उनका जनता निकै दिक्दारिएका छन् ।

महानगरपालिका मातहतकै कार्यलयहरूमा पार्किङको सुविधा छैन । ती कार्यालयमा जाँदा अव्यवस्थित पार्किङको नमुना देख्न सकिन्छ । महानगरपालिकाको पार्किङ क्षेत्रमा मेयर र उपमेयरको सवारी साधनका लागि भने ‘बोर्ड’ हालेरै पार्किङका लागि ठाउँ छुट्याएका छन् । तर सेवाग्राहीका लागि भने खासै धेरै ठाउँ देखिँदैन ।

सुविधायुक्त पार्किङको व्यवस्था गर्न नसक्ने महानगरपालिकाले पार्किङकै नाममा ठाउँ–ठाउँबाट राजस्व भने मोटै रकम असुल गर्दै आएको छ । शाक्य मेयर भएपछि मोटरसाइकल पार्किङबाट मात्रै साढे चार वर्षमा ५ करोड ९८ लाख ५७ हजार रूपैयाँ सङ्कलन गरेको छ ।

उनको घोषणाको ७१ औं नम्बरमा महानगरपालिका भवन निर्माण कार्य प्रारम्भ गर्ने उल्लेख छ । महानगरपालिकाको सम्पूर्ण कार्यलाई भ्रष्टाचारमुक्त र पारदर्शी बनाउन काठमाडौं महानगरपालिकामा ई–गभर्नेन्स प्रणाली सुरु गर्ने बाचा पनि गरेका थिए । तर महानगरको भवन निमार्ण ५ वर्ष कार्यकाल सकिनै लाग्दासमेत सुरु हुन सकेको छैन ।

भवन निर्माण कार्य सुरु हुनुपूर्व नै भएको भ्रष्टाचार रोक्न सक्ने उनको ल्याकत देखिएन । हालै भवन निर्माणका क्रममा अनियमितता भएको भन्दै महानगरकै कर्मचारीविरुद्ध अख्तियारमा उजुरी परेको छ । सोही कारण निर्माण कार्य नै रोकिएको छ ।

नागरिक सुरक्षाका लागि नेपाल प्रहरीसँग समन्वय गरी महानगरका संवेदनशील स्थलहरूमा सिसिटिभी जडान गरी सहरलाई सुरक्षित बनाउने उनको प्रतिवद्धता थियो । मुख्य सडकहरूमा सिसिटिभी राखिए पनि खासै पर्याप्त छैन । ‘त्यसो हुँदो हो त सहरमा चोरीका घटना कम हुन्थे होला, सडक दुर्घटनामा दोषी सजिलै पत्ता लाग्थ्यो होला,’ हालै कोठा चोरी भएर दुःख पाएका कोटेश्वरका एक पीडित बताउँछन् ।

भएको असन बजारलाई पनि व्यवस्थित गर्न सकेनन्, ‘मिनी असन बजार’को सपना त यसै हरायो ।

‘यो महानगर मेयरले भनेजस्तो सुरक्षित भइदिदो हो त, हामी कति ढुक्कले अबेरसम्म हिड्थ्यौं होला । तर, काठमाडौँमा आठ बजेपछि निर्बाध रूपमा हिड्न सक्ने अवस्था छैन,’ राजनीतिकर्मी रजिया बानू भन्छिन् ।

कहाँ छ मिनी असन बजार ?

विद्यासुन्दरले गरेको अर्को आकर्षक चुनावी योजना थियो– ‘मिनी असन बजार’ । उनको यो चुनावी ‘स्किम’ चर्चाकै विषय बनेको थियो । जन्मदेखि मृत्युसम्म चाहिने सामग्रीहरू सहितको ‘मिनी असन बजार’ विभिन्न ठाउँमा स्थापना गरी सञ्चालन गर्छु भनेका थिए । तर भएको असन बजारलाई पनि व्यवस्थित गर्न सकेनन्, ‘मिनी असन बजार’को सपना त यसै हरायो ।

भेटिएनन् स्न्याक्स बार र सेनिटरी प्याड

महानगरको भित्री सहरको हरेक ५०० मिटरमा र बाहिरी सहरमा आवश्यकताअनुसार प्राइभेट–पब्लिक पार्टनरसिप मोडेलमा पब्लिक सर्भिस सेन्टर बनाउने सपना देखाएका थिए । जसमा महिला, अपांगता भएका, वृद्ध, बालबालिकामैत्री, डिजिटल सूचना पाटी, शौचालय, डिजिटल सुझाव सङ्कलन डेस्क, रिचार्ज कार्ड, चार्जर, वेइटिङ मेसिन, फ्री बाइफाई, स्न्याक्स् बार, सेनिटरी प्याड एवम्को व्यवस्था गरिने बाचा थिए । केही ठाउँ शौचालय बनाए, भर्खरै एकाध ठाउँमा डिजिटल सूचना पाटी राखिए पनि यी पर्याप्त छैनन् । बाँकी अरु प्रतिवद्धता उनकै चुनावी पर्चामा सीमित भए ।

यति मात्रै होइन उनले ‘सही समय सही ठाम, नो ट्राफिक जाम’को अभियान सुरु गर्ने बाचा थियो । तर काठमाडौंमा जाम नहुने चोक भेटिन मुस्किल नै पर्छ ।

निश्चित समय तालिकाअनुसार यातायात सञ्चालन गर्न अपाङ्ग, बालबालिकामैत्री शौचालय सुविधासहितको बस सेवा सुरु गर्ने घोषणा गरेका थिए । उनको यो सपनाले उनी आफैंलाई गिज्याइरहेको छ । अपाङ्गता भएका र बालबालिकालाई बसमा नै शौचालय बनाउने सपना देखाएका मेयरको नगरमा आउँदा जनताले पैसा तिरेर पिसाब फेर्ने शौचालय समेत पाउँदैनन् । यसमा उनी नराम्रो सँग चुकेका छन् ।

काठमाडौंका जनतालाई काकाकुल हुनबाट जोगाउन प्रत्येक घरमा अनिवार्य वर्षेपानी सङ्कलनको अभियान सुरु गर्ने बताएका थिए । प्रयोग गरेर बढी भएको पानी भूमिगत जल भण्डारण गर्ने अभियान थाल्ने समेत शाक्यले बताएका थिए ।

भोकालाई लखेट्ने महानगर

यसरी भोकरहित महानगरको लागि ‘मेयर फुड पार्लर’ बनाउने सपना देखाएका मेयरले कोरोनाको समयमा आफ्नो भूमिका त भुले नै । यता भोकै परेका सयौं जनतालाई विभिन्न स्वयम्सेवीले खुलामञ्चमा निःशुल्क रूपमा खाना खुवाएकोसमेत देख्न सकेनन् । भोका मानिसले खुला स्थानमा बसेर आएको देख्दा महानगर फोहोर भयो भन्दै प्रहरी लगाएर भोकाको पेट भर्नेहरूलाई लखेटेको परिदृष्य महानगरबासी सामु ताजै छ ।

यो महानगर मेयरले भनेजस्तो सुरक्षित भइदिँदो हो त, हामी कति ढुक्कले अबेरसम्म हिड्थ्यौं होला । तर, काठमाडौंमा आठ बजेपछि निर्बाध रूपमा हिड्न सक्ने अवस्था छैन

उनको चुनावी पर्चामा ज्येष्ठ नागरिकहरूका लागि घर–घरमा निःशुल्क सेवाको लागि महानगरपालिकाको स्वयम्सेवक परिचालन गर्ने योजना । यतिमात्रै होइन, विपन्न, असहाय र विभिन्न कारणले बिचल्लीमा परेका नागरिकहरूलाई विशेष प्राथमिकतामा राख्ने बुँदा पनि उल्लेख थियो । यसरी नै उनीहरूलाई आवश्यकताअनुसार आवास, स्वास्थ्य उपचार तथा परिवारसँग समन्वय गरी तत्काल उद्धार कार्य प्रारम्भ गर्नेसमेत जनाएका थिए ।

मझौला तथा साना व्यवसाय सुरु गर्नेलाई लगानीमैत्री विनियम बनाउन सुरु गर्ने बाचा गरेका थिए । उनी काठमाडौंमा साना व्यापार गरेर गुजारा गर्नेहरूलाई नगर प्रहरी लगाएर पक्रन्छन् र जरिवाना तिराउँछन् ।

उनी मेयर भएपछि ५८४ जनालाई फुटपाथमा व्यापार गरेको भनेर महानगरको प्रहरीले कारबाही ग¥यो । दैनिक हातमुख जोड्न साना व्यापार व्यवसाय गर्ने उनीहरूबाट महानगरले जरिवाना मात्रै २ लाख ६९ हजार रूपैयाँ उठाएको छ ।

विद्यासुन्दर मेयर भएपछि महानगरले साना व्यवसाय गर्नेहरूको गाडा, क्रेट, साइकल उठाउने निर्णय ग¥यो ।

महानगरले ०७५ साल वैशाख १२ देखि यता १ हजार १ सय ९ वटा साइकल र ८ सय २३ वटा गाडा र हजारौँ क्रेट तथा नाङ्लो जफत गरेको छ । जफत गरिएका सामान लिलामी गरेर मात्रै महानगरले ८९ लाख रूपैयाँ राजस्व सङ्कलन गरेको छ ।

‘भोकरहित जनता शोकरहित महानगर’ बनाउने सपना देखाएर देशकै ठूलो महानगरको मेयर बनेका विद्यासुन्दरको आफ्नो कार्यकाल सकिन ५ महिना मात्रै वाँकी छ । यही ५ महिनामा महानगरले जफत गरेका सामग्रीको फेरि एकपटक लिलामी हुँदैछ । केही दिनअघि मात्रै भरी फलफूलको क्रेट महानगर प्रहरीबाट खोसिएका एक सडक व्यापारी भन्छन्, ‘महानगरले हाम्रो क्रेटको मात्रै होइन, हाम्रा सपनाको पनि लिलामी गर्दैछ ।’

को हुन् विद्यासुन्दर ?

विद्यासुन्दर ०४३ सालमा पहिलो पटक काठमाडौंको वडा नम्बर २१ बाट जनप्रतिनिधि बनेका थिए । २६ वर्षे उमेरमा तत्कालीन नेकपा (माले)का तर्फबाट नगर पञ्चायतको निर्वाचनमा जनपक्षीय उम्मेदवारका रूपमा वडाध्यक्ष निर्वाचित भए । उनले त्यहीँ वडामा ०४९ र ०५४ को स्थानीय चुनावमा वडाध्यक्ष जितेका थिए ।

त्यसपछि उनले ०७४ सालको स्थानीय चुनावमा काठमाडौंको मेयरको दावेदारको रूपमा आफूलाई उभ्याए । चुनावमा निकटम प्रतिद्वन्दी राजुराज जोशीले ४५ हजार २ सय ६९ मत ल्याउँदा उनले ६४ हजार ९ सय १३ मत ल्याएका थिए । यसरी शाक्यलाई जनताले भारी मतले जिताएका थिए । जनताको बलियो मत र अभिमत लिएर बागदरबार छिर्दै गर्दा उनले महानगरबासीलाई बाँडेको सपनामाथि अहिले प्रश्न उठेको छ । बागदरबारको सोही ढोकाबाट बाहिरने समय नजिकिँदै गर्दा उनी आफूले गरेका प्रतिबद्धता अधुरै हुने छाँट देखिएको छ ।

तीनपटक वडा अध्यक्ष हुँदा त उनले वडाबासीको केही हदसम्म मन जितेका पनि थिए । तर मेयरमा भने आफ्नो कार्यकाल सकिँनै लाग्दा उनलाई भोट हाल्नेहरूलाई निराश बनाएर बाहिरिँदै छन् ।

सम्बन्धित समाचार

( महानगर वेथितिको सम्पुर्ण शृंखला पढ्न यहाँ क्लिक गर्नुहोस् )