NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

कहिलेसम्म काठमाडौं काकाकुल ?

काठमाडौं । ०४८ सालको चुनावको बेला तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले ‘काठमाडौंको सडक मेलम्चीको पानीले पखाल्ने’ बताएका थिए । त्यति बेला काठमाडौंका जनताले सोचे, ‘अब त काकाकुल बन्नु पर्दैन, मेलम्चीबाट सडक पखाल्ने पानी नआए पनि तिर्खा मेट्न त पुग्ला ।’

कृष्णप्रसाद भट्टराईले यसरी पानीले सडक नै पखाल्ने भनेको पनि ३० वर्ष भयो । तर अहिलेसम्म पानीको समस्या हल भएको छैन । मानिसहरू पानीको लागि दैनिक लाइन बस्न बाध्य छन् । ट्याङ्करमा ल्याएको पानी महँगोमा किनेर खान बाध्य छन् ।

सडक नै पखाल्ने पानी आउँछ भनेको तीन दशकपछि पनि आयोजना पूरा नभई हतार–हतार मेलम्चीको गत चैत २० गते उद्घाटन गरियो । परीक्षणकालिन धमिलो पानी धाराबाट एकाध दिन झर्दा पनि नगरबासीको अनुहारमा आशाको सञ्चार भएको थियो । तर उद्घाटनको ३ महिनापछि अर्थात् असार १ गते सिन्धुपाल्चोकमा आएको भीषण बाढीको कारण काठमाडौंका मानिस फेरि काकाकुल बन्नु परेको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले अहिले झन्डै १० करोड लिटर पानी वितरण गर्दै आएको छ । तर काठमाडौं उपत्यकामा प्रत्येक दिन ४३ करोड लिटर खानेपानीको माग छ । त्यसैले अहिलेको पानीको माग थेग्न पनी अर्को मेलम्ची जत्तिकै आयोजना आवश्यक छ ।

मेलम्ची आयोजना पूरा हुँदा काठमाडौंमा प्रतिसेकेन्ड २ हजार लिटर अर्थात् दैनिक १७ करोड लिटर पानी काठमाडौं झर्ने आयोजनाका प्रवक्ता राजेन्द्र पन्त बताउँछन् ।

मेलम्ची आयोजना सपना मात्रै

२०२९ सालमा खानेपानी आपूर्तिका लागि सम्भाव्यता स्रोतको पहिचान गर्न अध्ययन सुरु भएको थियो । त्यसको १२ वर्षपछि अर्थात् विसं २०४१ मा मेलम्ची सहित २२ विकल्प पहिचान भए ।

त्यसको ८ वर्षपछि अर्थात् २०४९ मा याङ्ग्री र लार्के खोलाको मुलसमेत मिसाएर दैनिक कुल ५१ करोड लिटर पानी ल्याउन सकिने भएका कारण २२ मध्ये मेलम्ची नै उपयुक्त ठहर भयो । झन्डै ३५ अर्बको कुल खर्चमा सम्पन्न भएको उक्त आयोजना मर्मत संहारका लागि डेढ अर्ब रूपैयाँ खर्चिनु पर्ने भएको छ ।

आयोजनको सुरुङबाट २०७७ फागुन २२ मा पानी सुन्दरीजलको रिर्जभभ्वायरसम्म आइपुगेको थियो । त्यसको झन्डै एक महिनापछि अर्थात् चैत १५ गते मेलम्चीको पानी परीक्षण वितरण स्वरूप उपत्यकावासीको धारामा आएको थियो ।

काठमाडौंवासीको घारामा पानी आएपछि अर्थात् चैत २० गते राष्ट्रपतिबाट मेलम्ची आयोजनाको उद्घाटन गरेकी थिइन् । तर बाढीले क्षति पुगेपछि मेलम्चीको पानी काठमाडौंसम्म कहिले आइपुग्ने भन्नेमा अन्योल बढेको छ ।

कता पुग्यो पुनःनिर्माण

मेलम्ची आयोजनाको हेडवक्र्समा भर्खरै सफाइको काम सुरु भएको छ । आयोजनाका प्रवक्ता पन्तका अनुसार बाढीले ढुङ्गा र बालुवा ल्याएर थुपारेको मध्ये तीन स्थानबाट सफाइको काम हुँदै छ ।

‘अम्बाधन अडिट, वैकल्पिक सुरुङ र हेडवक्र्सको गेट नम्बर ९ बाट सफाइको काम सुरु गरिएको हो,’ उनले भने ‘यो सफा भयो भने पानी पठाउन सकिन्छ भनेर स्पष्ट देखिन्छ ।’ पन्तका अनुसार अहिले १०–१२ वटा मेसिनले काम गर्दै आएको र बिस्तारै मेसिनहरू थपिने छन् ।

केही दिन अगाडिदेखि मात्रै सफाइको काम सुरु भएको हो । सुरुङ धेरै नटालिएको भए चैत भरीमा काठमाडौंमा पानी पठाउन सकिने पनि उनले बताए ।

मेलम्चीमा गएको बाढीको कारण मेलम्ची नगरपालिकादेखि मेलम्ची आयोजना स्थलसम्मको सबै पक्की पुलसमेत बगाएको थियो । बाटो र अस्थायी पुल निर्माण गर्नु पर्ने भएकाले पुन निमार्णको काम ढिला सुरु भएको पन्तले बताए ।

माग पूरा गर्न पालो मिलाएर पानी वितरण – केयुकेएल

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले उपत्यकाका बासिन्दालाई अहिलेसम्म खानेपानी वितरण गर्दै आएको छ । महानगरमा ४३ करोड लिटर पानीको आवश्यकता भए पनि ११ करोड लिटर मात्रै पानी वितरण गर्दै आएको छ । उपत्यकामा खानेपानीको माग र पूर्तिबिच ठूलो अन्तर रहेको केयुकेएल प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्य बताउँछन् ।

‘हाम्रो चुनौती भनेकै माग र पूर्ति बिचको अन्तर कम गर्ने हो । यो चुनौतीलाई क्षेत्रगत रूपमा पालो मिलाएर पानी वितरण गर्दै आएका छौं । अहिले हामी २ दिन देखि ९ दिनसम्मको तालिका बनाएर पानी वितरण गर्दे आएका छौं ।’

उनका अनुसार बर्षात्को समयमा २/३ दिनमा दिने तर सुक्खा मौसममा ९/१० दिनमा समेत पानी वितरण हुने गरेको छ । तर उपत्यकामा २ लाख २२ हजार केयुकेएलका उपभोक्तालाई पानी वितरणमा समस्या परेको शाक्य बताउँछन् । उनी पछिल्लो समय धाराको माग एकदमै बढेको कारण समेत पानीको माग पनि बढेको उनको बुझाइ छ ।

खानेपानीको चुहावट समस्या

सयौँ वर्ष पुराना पाइपलाइन भएको कारण अहिले केयुकेएलले वितरण गर्ने खानेपानी चुहावट हुने गरेको छ । पाइपको आयु नै सकिएको कारण बितरित पानीको २० प्रतिशतभन्दा धेरै चुहावट भएको शाक्य बताउँछन् ।

‘केयुकेएलले प्रशोधन गरेर पठाएको पानी उपभोक्तासम्म नपुगेको हो । अहिले हामीले चुहावट भएको थाहा पाएको दुई, तीन दिनमा नै मर्मत गर्ने गरेका छौं’ उनी थप्छन्, ‘सतहमा आएको चुहावट पत्ता लागे पनि जमिनभित्र भएको चुहावट भने पत्ता लगाउन गाह्रो परेको छ ।’

तुरुन्तको लागि ट्युबवेल

मेलम्चीको पानी कहिले आउने अझै अन्योल भएकाले तत्काल पानी आपूर्तिका लागि ट्युबवेलको पानी प्रयोग हुँदै आएको छ ।

‘एउटा ट्युबवेल खनेर प्रतिदिन १० लाख लिटर पानी निकाल्न सक्यौ भने धेरै क्षेत्रलाई बाढ्न सकिन्छ । तर कतिपय ट्युवेलहरु कतिपय ट्युवेलहरु धेरै पहिले जडान भएका छन् । तर तिनीहरूको मर्मतको आवश्यक छ’ उनी भन्छन्, कतिपय ट्युवेलहरु त मर्मत गर्नु पर्ने अवस्थामा छन् । पानी वितरणमा बाधा पर्ने भएका कारण मर्मत गर्नु पर्ने ट्युबवेल सम्म मर्मत गर्न सकिएको छैन ।’

अहिले क्यामेरा नै भित्र पठाएर ट्युबवेलको अवस्था कस्तो छ भनेर हेरिने गरिएको शाक्य बताउछन् । उनी कोभिडको समयमा २० वटा ट्युबवेल मर्मत गर्दा दैनिक ८० लाख लिटर बढी पानी आएको शाक्य बताउछन् ।

मेलम्चीको विकल्प हिमालबाट पानी –राजुराज जोशी

 

कृष्ण प्रसाद भट्टराई ले खुल्ला मञ्चबाट मेलम्चीको पानीले काठमाडौंको सडक पखाल्ने सपना बाढ्दा त्यही मञ्चमा थिए राजुराज जोशी । राजनीतिमा वामे सर्दै गरेका जोशीलाई केही वर्षमा नै काठमाडौंमा मेलम्ची आउँछ झैँ लागेको थियो ।

युवा उमेरमा उनले प्रधानमन्त्रीको कुरा सुनेका जोशीको अहिले कपाल फुलिसक्यो । देशकै ठुलो महानगरको मेयरको प्रत्याशी पनि बने तर अहिले सम्म पनि मेलम्चीको पानी नआएकोमा राजनीतिक स्वार्थ रहेको समेत बताउछन् ।

अहिले महानगरको नेतृत्व गर्नेले खानेपानीको समस्या समाधानको लागि आवश्यक पहल नगरेको जोशीको भनाई छ ।

‘मेलम्ची पानी दैनिक १७ करोड लिटर मात्रै हो । तर माग भने त्यसको ४३ करोड लिटर भन्दा धेरै छ’ उनी भन्छन्, ‘हामीले पानी ल्याउँदा खोला रोज्यौ भने सुक्ने सम्भावना धेरै हुने रहेछ । त्यसैले हामीले काठमाडौंबाट नजिक रहेको हिमाल हाम्रो विकल्प हुने रहेछ ।’

मेलम्ची भन्दा ठुलो आयोजना सुरु गरेर महानगरले भन्दा सरकारलाई नै जिम्मा दिनु पर्छ । काठमाडौंलाई काकाकुल हुनबाट बचाउनको लागि मेलम्ची बाहेक त्रिसुली, भोटेकोसी कुन खोलाको पानी तान्न सकिने उनको धारण छ ।

महानगरले रानी पोखरी जस्ता २० वटा पोखरी बनाउन सक्थ्यो – अभियन्ता तुलाधर

पहिले काठमाडौं उपत्यकामा खेती गर्न राजकुलो मार्फत पानी ल्याइने गर्थ्यो । फरक फरक स्थानबाट ल्याइएको पानीले उपत्यकामा खेती हुन्थ्यो । यसका अलावा उपत्यकाको उत्तरी क्षेत्रमा प्रशस्त खेती योग्य जमिन थिए । त्यही जमिनबाट बर्खाको समयमा परेको पानी जमिनले सोस्ने गथ्यो ।

राजी पोखरी जस्ता ठुला ठुला पोखरी उपत्यकाका ढुङ्गेधारामा पानीको श्रोत थिए ।

सास्कृतीक अभियन्ता आलोक सिद्धि तुलाधरका अनुसार उपत्यकाको उत्तरी भागमा रहेको शिवपुरीबाट ३ तहमा रानीपोखरी सम्म पानी ल्याइन्थ्यो । उक्त पानी लाजिम्पाट पानी पोखरी त्यहाँबाट अहिलेको लैनचौर बैक्बीट हल भएको स्थानमा रहेको पोखरी र त्यहाँबाट रानीपोखरीमा पानी झर्थ्यो ।

उनका अनुसार राजकुलो मासिए पछि लैनचौरमा रहेको पानी पोखरी चौरमा परिणत भएको र अहिले बैंक्बीट बनेको उनी बताउन् । उती बेला यी ३ वटै पोखरीबाट सिँचाइका साथै जमिन भित्र समेत जाने गरेको उनको बुझाइ छ ।

‘रानीपोखरीको निमार्णको सम्बन्धमा विभिन्न कुराहरू सुन्न सकिन्छ । त्यति बेला रानीलाई रिझाउनको लागि उक्त पोखरी बनाइएको भन्ने पनि छ । तर त्यसको वास्तविक निमार्णको पानी आपूर्ति कै लागि हो’ उनले भने ‘राजकुलो पहिले नै नास भइसक्यो । अहिले त आकासे पानी पनि सङ्कलन हुँदैन । उती बेला बर्सातमा दरबार स्कुल, त्रिचन्द्र कलेजबाट आकासे पनि रानीपोखरीमा हाल्न सकिन्थ्यो ।’

यसरी नै उपत्यकामा फरक फरक ठाउँबाट पानी आउँथ्यो । यसरी आउने कुलो र जम्मा हुने पोखरी जमिन भित्र पानी रिचार्जको मुख्य स्रोत भएको तुलाधरको बुझाइ छ । ‘पछिल्लो समय उपत्यकामा सहरीकरण बढे सँगै राजकुलो मासियो’ उनी थप्छन्, ‘पछिल्लो समय उपत्यकामा घरहरू बढे तर राजकुलोहरू मासिए ।’

तुलाधर महानगरले जनप्रतिनिधि पाए पछि यस अघि लोप भएका पोखरीहरू उत्खनन गर्नु पर्ने बताउछन् ।

‘काठमाडौं महानगर यो ५ वर्षको समयमा त रानीपोखरी जस्तै अन्य २० वटा पोखरी बनाउन वा पुरिएका पोखरी उत्खनन गर्न सक्थ्यो । तर त्यसो गर्न महानगरपालिका चुकेको छ’ उनी श्रोत भन्दा पनि नेतृत्व लिन नसक्नु गल्ती भएको बताउँदै थप्छन्, ‘महानगर सँग पैसा नभएले काम नगरेको हैन । इच्छा शक्त नभएर नबनाएको हो । यो अवधिमा धेरै भन्दा धेरै पोखरीमा लगानी भएको भए उपत्यकामा पानीको समस्या केही हद सम्म भए पनि कमी हुन्थ्यो । मानिसले ट्याङ्करबाट पानी किन्नु पर्दैनथ्यो ।’

यहि भएका स्रोत सफा गर्नु र जोगाउन पर्छ – किशोर थापा

महानगरको मेयरको उम्मेदवारी दिने क्रममा विद्या सुन्दर शाक्यले प्रत्येक घरमा अनिवार्य बर्षेपानी सङ्कलनको अभियान सुरु गर्ने उल्लेख गरेका थिए । बर्षेपानी सङ्कलनबाट बढी भएको पानी भूमिगत जल भण्डारण गर्ने अभियान थाल्ने समेत घोषणा गरेका थिए ।

सहरी विकास मन्त्रालयका पूर्व सचिव एवम् मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक किशोर थापा काठमाडौंका मानिसलाई ३० औ वर्ष देखि मेलम्चीको सपना मात्रै देखाइएको बताउछन् ।

गत स्थानीय चुनावमा काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार समेत रहेका थापा मेलम्चीले काठमाडौंको तिर्खा नमेट्ने बताउछन् ।

‘मैले मेयरको उम्मेदवारी दिँदा बर्सातको पानी सङ्कलन गर्ने र शुद्ध बनाउनको लागि कार्यक्रम नै ल्याएको थिए’ उनी भन्छन्, ‘वर्षाको पानी घर वा टोलमा सङ्कलन गर्न सकिन्थ्यो । त्यो कार्यक्रम अहिले सेलाएको छ । बर्सातको पानी सङ्कलन गर्दा काठमाडौंबासीको केही हद सम्म भए पनि तिर्खा मेट्थ्यो ।’

ग्राउन्ड रिचार्ज गर्ने कार्यक्रम गर्दा पनि धेरै स्रोतहरूमा पानी आउन सक्छ । तर उक्त कार्यक्रम प्रभावकारी ढङ्गबाट भएको छैन । ग्राउन्ड रिचार्ज कार्यक्रम प्रभावकारी भएको भए सुख्खा याममा पनि महानगरमा पानी निकाल्न सकिन्थ्यो । उनी अहिलेका मेयरले सम्बन्धित निकाय सँग समन्वय गर्न नसक्दा काठमाडौं अझै केही समय काकाकुल हुने बताउछन् ।

‘काठमडौँबासीले अहिले विभिन्न स्रोतबाट पानी खाइरहेका छन् । सुरुमा त त्यो स्रोतलाई नै सफा राख्ने र जोगाउने तर्फ जानुपर्छ । यहाँका मानिसले त्यसलाई सुद्धिकरण गर्नका लागि विभिन्न प्रविधि र सेवाहरू घरघरमा पुर्‍याउन महानगरले गर्नु पर्थ्यो ’ थापाले भने ।

यहाँका मानिसलाई मेलम्ची कै पानी खुवाउँछु भनेर सपना बाढेर भएन नि । महानगरले अहिलेलाई इनार, कुवा वा जारको पानी प्रयोग गरेको भए पनि शुद्धताको ज्ञारेन्टी गर्नु पर्ने थापाको भनाइ छ ।

सम्बन्धित समाचार

( महानगर वेथितिको सम्पुर्ण शृंखला पढ्न यहाँ क्लिक गर्नुहोस् )