NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

‘गरिखाने’काे सपना निमाेठ्दै महानगर

सातामा एक दिन मेला राखौं– दर्शना, भो अब राजधानी नै सारौं– तुलाधर

काठमाडौं । सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल छ । भिडियोमा महानगरीय प्रहरीले सडकमा व्यापार गर्ने ठेला उठाएर गाडीमा लोड गरिरहेको छ । ठेला धनी वृद्ध महिला ‘छोडिदिनू न… छोडिदिनू … एक चोटिलाई’ भन्दै रुँदैछिन् । सुनुवाइ नभएपछि वृद्ध महिला महानगरको गाडी चढ्दै ठेला तान्ने प्रयास गर्छिन् । बलिष्ठ कर्मचारीसामु उनको जोड चल्दैन, पाखुरा तानेर धकेलिदिन्छन् । ‘मेरो कोठामा ठेलाबाहेक केही छैन, खान अन्न छैन,’ महिलाको बेदना कोलाहल सडकमा केही मिटर वरपर प्रतिध्वनित भएर हराउँछ । तर त्यो रुवाइ अरन्यरोदन सावित हुन्छ । कसैले सुन्दैन ।

सिंहदरबारको अधिकार बागदरबार पुगे पनि निमुखा नागरिकमाथि जाइलागेर महानगरपालिकाले गरिखाने साधन मात्र हडपेको छैन, उसैगरी दिनहुँ तिनका सपनासमेत निमोठिरहेको छ

भिडियोमा अर्को दृश्यसँगै देखिन्छ । फलफूलसहितको साइकल प्रहरीले गाडीमा लोड गर्छ । यो दृश्यले चाहिँ पैदलयात्रीलाई बिझाउँछ । ‘जो हेपिएको छ उनीहरूलाई झन् हेप्छन् के यिनीहरू,’ केही पैदलयात्री प्रहरीमाथि जाइलाग्छन् ।
बटुवाले त्यति बोलिदिदाँ बृद्धालाई केही राहत महसुस हुन्छ । उनी पुनः आफ्नो कुरा पोख्छिन्, ‘यस्तो नि हो त । हामी टन्न खान पाउँदापाउँदै यसरी सडकमा आएका हौं र ? मैले गाडा रोकेर बेचेको भए एउटा कुरा हुन्थ्यो ।’

०००

संसद् भवनको पश्चिम गेटसामुन्ने रोकिएको गाडीमा केही नगर प्रहरी एक महिलालाई जबरजस्ती तानेर चढाउँदै थिए । फलफूलको गाडासँगै नगर प्रहरीले नियन्त्रणमा लिएपछि उनी ‘बचाऊँ ! बचाऊँ !’ भन्दै गुहार मागिरहेकी थिइन् । अवला नारीमाथिको यो ज्यादतिविरुद्ध केही युवा जाइलाग्न खोज्दै थिए । तर गाडी कुलेलम ठोक्यो ।

०००

थापागाउँ लाखेचौरनेर भेटिएका मनोज साहले ढकियाको फलफूल साइकलमा डोहो¥याएर काठमाडौंका चोक, गल्ली नापेको ८ वर्ष भइसकेको छ । यसबीच उनी नगर प्रहरीको दपेटाइमा यति धेरै पटक परे कि स्वयं आफैंले गणना गर्न भ्याएका छैनन् । यही कारण उनी कतिबेला नगर प्रहरीसँग जम्काभेट होला र सामानसहित साइकल उठाइदेला भनेर त्रस्त हुन्छ । त्रासको आतंकबीच वर्षको ८ महिना उनी यसैगरी काठमाडौंमा व्यापार गर्ने बताउँछन् । बारा स्थायी ठेगानाका उनी भन्छन्, ‘जग्गा थोरै छ हजुर । उब्जाउले वर्ष दिन परिवारको पेट पाल्नै पुग्दैन । त्यही भएर काठमाडौंमामा साइकल धेकेलेछु ।’

०००

सर्वसाधारणमाथि काठमाडौं महानगरपालिकाको ज्यादति अहिले सामान्यजस्तै बनेको छ । निमुखा नागरिकमाथि जाइलागेर महानगरपालिकाले गरिखाने साधन मात्र हडपेको छैन, तिनका सपनासमेत निमोठिरहेको छ ।

२८ वर्षदेखि महानगरको शरणमा रहेकी पोखराकी विमला गौतम महानगरले दपेटेर गरिखान मुस्किल पारेको सुनाउँछिन् । ‘नाङ्लोमा रहेको सीमित सामान ढुक्कले बेच्न पाए अलिक राहत हुन्थ्यो । तर महानगरका प्रहरीका कारण बेला बेला भागिरहनु पर्छ,’ नगर प्रहरी आउने त्रासामा दायाँ–बायाँ हेर्दै उनले गुनासो गरिन् । उनका अनुसार, तीन वर्ष अघिसम्म महानगरमा यति धेरै ज्यादति थिएन । त्यसयता भने महानगरका कर्मचारीले गरिखान नदिएको उनको अनुभव छ ।

महानगरपालिकाभित्र सडकलाई माध्यम बनाएर व्यापार गर्नेको यकिन तथ्यांक त कसैसँग छैन । तथापि, हजारौं मानिसले रोजीरोटीको प्रबन्धका लागि यही सडकलाई प्रयोग गर्दै आएका छन् । जसलाई महानगरको पक्षपाती व्यवहारले गरिखान सकस हम्मेहम्मे पर्दै आइरहेको छ ।

नगर प्रहरीको काम कहिलेकाहीँ नाङ्ले पसल र साइकलमा व्यापार गर्ने साना व्यापारी लखेट्ने मात्रै देखिन्छ । साना व्यापारीलाई लखेट्नुभन्दा साताको एक दिन निश्चित स्थान तोकेर मेला बसाल्नु उचित हुन्छ
–दर्शना

काठमाडौं महानगरपालिकाका पूर्वमेयर केशव स्थापित निम्न आय भएका नागरिकमाथि महानगरपालिकाले अहिले देखाइरहेको रवैया गलत भएको बताउँछन् । न्यून आय भएकाको पनि बाँच्न पाउने उत्तिकै अधिकार भएकाले त्यसको रक्षा महानगरपालिकाले इमान्दारितापूर्वक गर्नुपर्ने मत उनको छ ।

‘यो देशकै राजधानी हो । महानगरले देशभरका नागरिकलाई दुःख परे काठमाडौं आऊँ, पानीपुरी बेचेर भए पनि जीवन चलाऊँ भनेर बोलाउने ल्याकत राख्नुपर्छ,’ महानगरपालिकालाई स्थापितको प्रश्न छ, ‘राजधानीको फाइदा उठाउँदै कुस्ता सुविधा लिने अनि जनतालाई चाहिँ उल्टै दुःख दिने ?’ फुटपाथका व्यापारीप्रतिको महानगरको हेराइ खोटो रहेको उल्लेख गर्दै उनले फुटपाथमा व्यापार गर्नेलाई समस्याको रूपमा नहेर्ने महानगरपालिकालाई सुझाए ।

त्यसो भए महानगरपालिकाभित्रको अव्यवस्थित फुटपाथ व्यापारलाई यत्तिकै राखिराख्ने हो त ?

स्थापित फुटपाथको व्यापारलाई व्यवस्थित गरेर गरिखाने वातावरण निर्माण गरिदिनुपर्ने तर्क गर्छन् । देशभरिका उत्पादन फुटपाथमा ल्याएर बिक्री वितरण गर्न सके उत्पादकलाई गर्वबोध हुने र अर्थतन्त्रसमेत चलायमान हुने उनी बताउँछन् । ‘देशभरिबाट मानिसहरू आफ्ना उत्पादन बिक्री गर्न काठमाडौंको फुटपाथमा आउँछन् भने महानगरपालिकाले त्यसको चाँजापाँजो मिलाउनु पर्छ,’ स्थापित भन्छन् ।

उनले अगाडि थपे, ‘तर यहाँ त झुत्रो लुगा लगाएर हिड्नेलाई कुकुरले लखेटे जसरी राज्यले लखेटिरहेको छ । यो गलत भयो । महानगरमा आएका मानिसलाई पुलिसले यसरी लखेट्न पाउँदैनन् ।’

काठमाडौं महानगरपालिका नगर प्रहरी महाशाखा प्रमुख धनपति सापकोटाको तर्कचाहिँ स्थापितको भन्दा ठीक उल्टो छ । मानिस हिँड्ने सडकलाई आयआर्जनको माध्यम बनाउन दिनुपर्ने तर्क नै गलत भएको धनपतिको जिकिर छ । सडकपेटीमा व्यापार गर्नु कानूनविपरीत भएकाले त्यस्ता गतिविधिविरुद्ध कानून बनाएर एक्सनमा उत्रिएको उनको भनाइ छ । काठमाडौं महानगरपालिका क्षेत्रभित्र शहरी सुव्यवस्था कायम गर्न पनि फुटपाथमा हुने व्यापार निरुत्साहित गर्न जरुरी भएको उनको भनाइ छ ।

सेवा सुविधाका लागि मानिस काठमाडौं ओइरिनु स्वभाविक भएकाले प्रशासनिक र आर्थिक राजधानी बदलेर समाधान खोज्नुपर्छ – तुलाधर

‘बाटो नै ओगटेर व्यापार गर्नु गलत हो । बालक–बृद्ध जो सुकै भए पनि बाटोमा व्यापार गर्न पाइँदैन । हामीलाई बाटोमा बस्ने मानिस उठाउनु रहर होइन । सडक आम मान्छेको हो,’ उनले भने । बूढाबूढी, केटाकेटीलगायत असहाय भोकै भएको तर्क गरेर त्यसको समनको माध्यम सडकलाई बनाउन नहुने उनको मत छ ।

सरकारले वेरोजगारहरू लक्षित गरेर विभिन्न कार्यक्रम ल्याएको भन्दै उनले त्यसलाई उपयोग गर्न सुझाए । ‘काम गर्न नसक्ने बृद्धबृद्धालाई सरकारले भत्ता दिन्छ । विभिन्न उमेर समूहकालाई स्वरोजगार बनाउन विभिन्न कार्यक्रम ल्याइएको छ । त्यसलाई उपयोग गरेर जीविकोपार्जन गर्नुपर्छ न कि सडक पेटी कब्जा गरेर,’ उनले भने ।

यो क्रममा उनले अनौपचारिक क्षेत्रलाई बढावा दिँदाका बेफाइदाबारे लामो फेहरिस्त नै प्रस्तुत गरे । उनका अनुसार, सडकका व्यापारीले पहिले त राज्यलाई कर तिर्दैनन् । यस्ता व्यापारीबाट उपभोक्ता ठगी हुने जोखिम पनि उत्तिकै छ । ‘दर्ता भएका व्यापारीले सरकारलाई कर तिर्छन् । यस्ता व्यापारीले बिक्री गर्ने सामान र मूल्यको सुनिश्चितता पनि हुन्छ । ठगी गरेको खण्डमा कारबाहीको दायरामा ल्याउन पनि सकिन्छ । तर अनौपचारिक ढंगले व्यवसाय संलग्नलाई बाँध्न कठिन छ,’ फुटपाथका व्यवसायीमाथिको महानगरको व्यवहार बचाउ गर्दै भने ।

सातामा एक दिन सडकमा मेला लगाऊ – रञ्जु दर्शना

काठमाडौं महानगरपालिका क्षेत्रभित्रको सडक पैदल यात्रुमैत्री नभएको गत निर्वाचनकी मेयर उम्मेदवार रञ्जु दर्शना स्वीकार्छिन् । व्यापारका लागि सटर लिएकाले नै सडकमा सामान फिजाएर अस्तव्यस्त पारेको उनको बुझाइ छ ।

‘महानगरले बाटोमा व्यापार गर्नेलाई नियन्त्रण गर्ने, जरिवाना तिराउनेलगायत कार्य गर्दै आइरहेको छ,’ दर्शना थप्छिन्, ‘नगर प्रहरीको काम कहिलेकाहीँ नाङ्ले पसल र साइकलमा व्यापार गर्ने साना व्यापारी लखेट्ने मात्रै देखिन्छ । साना व्यापारीलाई लखेट्नुभन्दा साताको एक दिन निश्चित स्थान तोकेर मेला बसाल्नु उचित हुन्छ ।’

दर्शना सटर भाडामा लिएर व्यापार गर्नेहरूलाई रोक लगाउन सके मात्रै पनि अहिलेको अव्यवस्था निकै हदसम्म समाधान हुने बताउँछिन् ।

महानगरले कडा नियम बनाउनु पर्छ – राजुराज जोशी

गत निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट कामनपाका मेयरका उम्मेदवार राजुराज जोशीचाहिँ सडक नै कब्जा गरेर व्यापार गर्नु गलत भएको बताउँछन् ।

विगतमा यो समस्या समाधान निम्ति प्रयोग गरिएका विकल्प प्रभावहीन भएकाले सडक व्यापारमा रोक लगाउनुपर्ने तर्क गर्छन् ।

‘सडकमा हुने व्यापार रोक्न र पैदल यात्रुलाई सहज होस् भनेर मेरो भाइ नवीन्द्र उप–मेयर हुँदा ०५९ तिर रत्नपार्कबाट भृकुटी मण्डप सारिएको थियो । तर अवस्था फेरि उस्तै रह्यो ।’

मानिस हिँड्ने सडकलाई आयआर्जनको माध्यम बनाउन दिनुपर्ने तर्क नै गलत भएको धनपतिको जिकिर छ

जोशीका अनुसार, त्यो बेला १२ सय पसल भृकुटीमण्डप सारिएका थिए । तर अहिले त्यस बेलाको भन्दा समस्या जटिल भएको छ । यही ढंगले यो समस्या कहिले नहट्ने उनको निचोड छ ।

जोशी बाटोमा झोला बोकेर आउनै दिन नहुने बताउँछन् । यसो भन्दैमा रोजगारी नै रोक्न भने नहुने उनको धारणा छ ।

फुटपाथमा व्यापार गर्नेहरूका लागि रोजगारी सिर्जना गर्न सकिने उनको सुझाव छ । त्यसका लागि दर्शनाको जस्तै उनले पनि हप्ताको एक दिन कुनै खुल्ला स्थानमा हाट चलाउन सकिने विकल्प प्रस्तुत गरे ।

ललितपुर महानगरपालिकाले जस्तै फुटपाथको व्यापार रोक्न कडा नियम लागू गर्न उनले महानगरपालिकालाई सुझाव दिए । यो नै अव्यवस्थित सडक व्यापारको दीर्घकालीन समाधान भएको बताउँछन् ।

समस्या विवेकसम्मत समाधान खोजिएन –अभियन्ता तुलाधर

काठमाडौंका सांस्कृतिक अभियन्ता आलोक तुलाधर फुटपाथमा हुने व्यापारको विवेकसम्मत विकल्प खोज्नुपर्ने सुझाउँछन् ।
आर्थिक अवस्था कमजोर भएकाले सडकलाई उपार्जनको माध्यम बनाउनु गलत नभए पनि सडक नै कब्जा गर्नु जायज नभएको तुलाधरको ठम्याइ छ ।

उनले यो समस्याको उचित व्यवस्थापन महानरगरपालिकाको दायित्व भएको औंल्याए ।

नाङ्लोमा रहेको सीमित सामान ढुक्कले बेच्न पाए अलिक राहत हुन्थ्यो । तर महानगरका प्रहरीका कारण बेला–बेला भागिरहनु पर्छ

‘नाङ्लोमा व्यापार गरेर गुजारा गर्नेलाई नगर प्रहरीले लखेटेको देखिन्छ । यो मानवीयता र समाधान दुवै कोणबाट गलत छ,’ तुलाधरको सुझाव छ, ‘सडकमा रोजीरोटीका लागि पसल थाप्नेको विकल्प वा व्यवस्थापन महानगरपालिकाले नै खोज्नुपर्छ ।’

देशको प्रशासनिक र आर्थिक राजधानीका हैसियतले देशभरिका मानिस सेवा सुविधाका लागि काठमाडौं ओइरिनु स्वभाविक भएकाले सरकारले विशेष योजना ल्याएर विकल्प दिनुपर्ने उनको मत छ । त्यसका लागि प्रशासनिक र आर्थिक राजधानी काठमाडौंबाट सार्न उनको सुझाव छ ।

तुलाधर काठमाडौंलाई सांस्कृतिक राजधानीमात्रै बनाउनु पर्ने धारणा राख्छन् । उनको विचारमा त्यसो भएमात्रै काठमाडौं पर्यटकमैत्री हुनेछ ।

सुविधा दिन होइन, कर उठाउनै ब्यस्त

महानरको मेयर भएपश्चात समस्या निराकरणको साटो विद्यासुन्दरले झनै समस्यामा थोपर्दै लगेका छन् । आफ्नो घोषणामा विद्यासुन्दर इमान्दार नदेखिँदा ‘भोकसहित जनता, शोकसहित महानगर’ बनेको छ ।

‘मेयर फुड पार्लर’ बनाएर भोक मेटाउने सपना देखाएका विद्यासुन्दरले आफ्नै पौरखले किनेको गाडा र साइकल लिलामी गरेर महानगरको कमाइ त बढाएका छन् तर सपनामाथि कुठाराघात गरेका छन् ।

विद्यासुन्दर शाक्य मेयर भए पछि अर्थात् ०७५ वैशाख १२ गतेको एक निर्णयले देशको राजधानीमा नै रोजगारी गरेर हात मुख जोड्ने बाटो बन्द गरिदिएका हुन् । त्यसअघि सडकमा व्यापार गर्नेमाथि महानगरले यो हदको ज्यादति गर्ने गरेको थिएन ।

यही निर्णयका आधारमा अहिले महानगरपालिकाले सडक व्यापारीका सामान जफत गरिरहेको छ । जसबाट पछिल्लो तीन वर्षमा महानगरले ८९ लाख आम्दानी गरेको छ ।

महानगरले यो अवधिमा फलफूलजन्य सामग्री साइकल ३०५ थान, गाडा ३०७ थान, प्लाष्टिकका क्रेटलगायत १४ हजार ३१५ केजी सामान लिलाम गरेको छ । ०७६ जेठ १९ गते भएको पहिलो लिलामीबाट मात्रै मूल्य अभिवृद्धि करबाहेक ५ लाख ७ सय आर्जन गरेको महानगरको भनाइ छ ।

पूर्वमेयर केशव स्थापित निम्न आय भएका नागरिकमाथि महानगरपालिकाले अहिले देखाइरहेको रवैया गलत भएको बताउँछन्

०७६ पुस ४ मा महानगरले दोस्रो पटक अर्को लिलामी ग¥यो । उक्त लिलामीमा फलफूलजन्य सामग्रीसँगै ३५५ थान साइकल, १४९ थान गाडा, प्लास्टिकका क्रेटसमेत १० हजार ९७३ केजी सामान राखिएका थिए । जसमार्फत महानगरले अभिवृद्धि करबाहेक १८ लाख उठायो ।

महानगरले त्यसको ९ महिनापछि ०७७ असोज २९ मा गरेको तेस्रो लिलामीबाट ५ लाख २० हजार उठाएको छ । पछिल्लोपटक ०७८ असार १८ गते अर्को लिलामी गरियो । उक्त लिलामीमा फलामजन्य सामग्री साइकल २५५ वटा, गाडा २०१ वटा, प्लास्टिक क्रेटलगायत १५ हजार १४० केजी र कपडाजन्य सामान राखिएका थिए । जसलाई विभिन्न व्यक्तिले ५ लाख ३० हजार ८५९ रूपैयाँ खर्चेर लगे ।

०५२ मंसिर २९ गते देशकै पहिलो महानगरपालिकाका रूपमा काठमाडौं महानगर विधिवत् रूपमा स्थापित भयो । हाल मुलुकमा रहेका ६ वटा महानगरमध्ये सबैभन्दा पुरानो, जनसंख्याका आधारमा सबैभन्दा ठूलो महानगर हो, काठमाडौं । तर महानगरले कहिले पनि सडकमा ठेला र नाङ्लोमा व्यापार गरेर दैनिक गुजारा गर्नेको आवाज सुनेको छैन ।

अझ आफ्नो महानगरसँग कति मानिस फुटपाथको व्यापारमा आश्रित छन् भनेर यकिन तथ्यांक समेत छैन । सडक व्यापारीलाई रोजगारी दिने वा त्यही व्यापारलाई अन्यत्र कहीँ व्यवस्थापन गर्नेबारे पनि महानगरले अहिलेसम्म कुनै ठोस योजना बनाएको छैन ।

सम्बन्धित समाचार

( महानगर वेथितिको सम्पुर्ण शृंखला पढ्न यहाँ क्लिक गर्नुहोस् )