NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते
महानगर वेथिति

किन रिसाउँछ नगर प्रहरी ?

समस्या काठमाडौं महानगरपालिकामा लागि नयाँ विषय होइन । समस्याको लहरो तान्दै जाँदा काठमाडौं महानगरपालिका फोहोरमाथि बिछ्याइएको मखमली कार्पेटजस्तो लाग्छ । बाहिरबाट सुन्दर देखाउने भरमग्दुर प्रयत्न गरिएको छ, तर मुनिको फोहोरबाट दुर्गन्ध आइरहन्छ ।

जस्तो कि, महानगर प्रहरी बल । जसलाई अधिकतर समय दैनिक गुजाराका लागि सडकमा निकालिएका गाडा र पार्किङ स्थान अभावका कारण सडकछेउ अड्याइएका मोटरसाइकलसँग छिनाझपटी गरिरहेको देखिन्छ । त्यसैले सार्वसाधारण उनीहरूप्रति अक्सर नकारात्मक धारणा व्यक्त गर्छन् । तर, महानगर प्रहरी बल प्रमुख धनपति सापकोटाको कुरा सुन्ने हो भने उनीहरू आफैं समस्याको चाङमाथि छन् ।

थोरै दरबन्दी, सीमित सुविधामा अनगिन्ती कामको चापमा महानगर प्रहरीहरू खटिरहेका हुन्छन् । सीमित अधिकार, धेरै कार्यक्षेत्र । सर्वसाधारणको गुनासो उत्तिकै ।

नेपालवाचसँग महानगर प्रहरी बलका यस्ता अनेकन समस्या व्यक्त गरे प्रमुख सापकोटाले । प्रस्तुत छ, उनको अभिव्यक्तिको सम्पादित अंशः

No description available.

काठमाडौं महानगरपालिकाले ०५० सालबाट नगर प्रहरी राख्न थालेको हो । नगर प्रहरी बल स्थापना हुँदा जुन अवस्था थियो, अहिले भिन्न छ । त्यस बेला के कामको परिकल्पना पनि गरिएको थिएन, त्यस्ता धेरै काम अहिले अनिवार्य बनिसकेको छ ।

त्यतिबेला जनसंख्या नै यति धेरै थिएन । काठमाडौंको सिरान अर्थात् बूढानीलकण्ठमा अहिले हुने भीडभाड त्यतिबेला असन–इन्द्रचोकमा मात्रै हुन्थ्यो । जहाँ भीडभाड हुन्छ, त्यहाँ लापरबाही हुन्छ । त्यस्तै स्थानमा नगर प्रहरी बलको आवश्यकता पर्छ । अहिले त्यस्तो भीडभाड जताततै छ, त्यसैले आवश्यकता बढी छ तर, जनशक्ति झन् कम ।

त्यसबेला काठमाडौंको सडकको धूलो हटाउन ‘ब्रुमर’ चलाउनु पर्ला भनेर सोचिएकै थिएन । अहिले त्यो जिम्मा पनि हामीले नै लिनुपरेको छ ।
नगर प्रहरी बल सुरु हुँदा महानगरमा अहिलेजस्तो बाटोभरि तार पनि थिएन । अहिले त तारकै कारण दिनमा ४–५ ठाउँमा आगलागी हुन्छ ।

आगो निभाउन नगर प्रहरी नै पुग्नु पर्छ । आगलागी भएपछि भुँइमा झरेको तार त केवल फिँजाउनेले लैजानुपर्ने हो । त्यो पनि लैजाँदैनन् ।

केही हप्ताअघि त्रिपुरेश्वरदेखि थापाथलीसम्मको तार बाँदरले पीङ खेलेर बाटोमा लतारेको थियो । त्यो तार सेवा प्रदायकले नै व्यवस्थापन गर्नुपर्ने हो । तर, पटक–पटक भन्दा पनि नमानेपछि हामीले हटायौं ।

केवल सेवा प्रदायकलाई स्वीकृति दिने, नियमन गर्नेलगायत कुनै विषय महानगरसँग जोडिएको छैन । तर तार लतारिए पछि गाली महानगरको थाप्लोमा आउँछ ।

पैसा उठाउने केवलवाला अनि तार बाटोमा छरिँदा गाली खाने हामी भएका छौं । यस्तो काम गर्नुपर्ने परिकल्पना पहिले गरिएको थिएन ।

सडक भत्किँदा झनै समस्या

काठमाडौंमा विभिन्न निकायले सडक भत्काउँछ । विद्युत् प्राधिकरणले बाटोमुनि तार बिच्छ्याउने काम गर्छ । अर्कातर्फ मेलम्ची खानेपानी आयोजनाले पानीको पाइप बिच्छ्याउने भनेर बाटो खन्छ । कहिले सडक विस्तार गर्ने भनेर बाटो भत्काइन्छ ।

भूकम्पपछि निर्माण अवशेष बाटोमा नै छोडिएका छन् । घर र बाटो बनाउने ठेकेदारले काम गरेर बाँकी सामान बाटोमा नै छोडेका हुन्छन् ।

लकडाउनको बेला हामीले ठेकेदारले काम सकेर बाँकी राखेका सबै सामान उठायौं । त्यो बेला सहर पूरै ‘क्लिन’ भएको थियो । तर अहिले फेरि उस्तै भएको छ । ठेकेदारले काम सकेपछि सामान बाटोमा नै छोडेका छन् ।

यी सबै अव्यवस्थालाई सम्हाल्नुपर्ने र सफा सहर बनाउनु पर्ने जिम्मेवारी हाम्रो काँधमा छ । यस्तो दुर्गति देख्दा रिस उठ्नु स्वाभाविक नै हो । यस्तो लाग्छ कि यो देशमा हरेक कदममा लाठो उठाउनु पर्ने दिन आएको छ ।

महानगरभित्र हुने सबै निर्माणको काम महानगरले नै गर्न पाउने अधिकार हुनु पर्ने हो । त्यसो भए पो महानगरले काम गर्न सके ताली खान्छ, नसके गाली खान्छ । अहिले त असम्बन्धित कुरामा पनि गाली खाइरहनु परेको छ ।


कामको चाङ : धूलो बढार्नेदेखि रूख काट्नेसम्म

महानगरमा धुँवा र धुलोको समस्या सबैलाई थाहा छ । महानगरलाई धुलो बढार्ने अधिकार त छ, तर धुवाँ नियन्त्रण गर्ने अधिकार महानगरलाई कुनै पनि कानुनले दिएको छैन । तर पनि हामीले समस्यालाई मध्यनजर गरेर धुँवा नियन्त्रण गर्न अत्याधुनिक मेसिनजडित गाडी किन्दैछौं । जसले पुराना गाडीको धुँवा परीक्षण गर्छ ।

हामीलाई ती गाडीहरूलाई कारबाही गर्ने अधिकार नभए पनि हामीले बनाउन लागेको मापदण्ड यो हो भनेर बुझाउन सक्छौं । अहिले उक्त गाडी खरिदको लागि बजेट विनियोजन भएर किन्ने प्रक्रियामा गएको छ । सिधै महानगरमा ठोकिने कुरा कानुनी रूपमा पनि यहीँ आउनुपर्छ भन्ने हाम्रो मान्यता हो । धुलो हटाउन भने अहिले नगर प्रहरी बलले ‘ब्रुमर’ चलाउने गरेको छ ।

बाटोमा ढलेका रुख र सडकछेउका रुखका हाँगा हामीले नै काट्नुपर्छ । केही साताअघि माइतीघर–बानेश्वरको बाटोमा केही रुख गाडीले हानेर बाटोमा लड्यो । त्यो हटाउने पनि हाम्रै जिम्मामा पर्‍यो ।

बाटोछेउका रुख चढेर हाँगा काट्न सक्ने अवस्थामा छैन । त्यसैले हाँगा काट्ने मेसिनसहितको गाडी मगाएका छौं ।

सडक व्यापारको समस्या

काठमाडौं भ्यालीको अर्को समस्या सडक व्यापार हो । हामीले गाली खाने अर्को प्रमुख क्षेत्र पनि ।

यो समस्या समाधानको लागि हामीले विभिन्न काम गर्दै आएका छौ । बेला बेलामा माइकिङ गर्दै सडक अतिक्रमण गरेर व्यापार नगर्न सूचना दिँदै पनि हिँड्छौं ।

नियमअनुसार कोही कसैले पनि सडक अतिक्रमण गरेर व्यापार गर्न पाउँदैन । हाम्रो मान्यता के हो भने दर्ता भएका व्यवसायले कर तिर्छन् । ठगी गरे भने नियमन गर्न सकिन्छ ।

तर सडकमा हुने व्यापारबाट ठगीमा परे कसरी कारवाही गर्ने ? त्यसैले बाटोमा व्यापार गर्ने जो सुकै भए पनि उनीहरूको सामान जफत गर्दै आएका छौं ।

पार्किङको पीर

महानगरले तोकेको स्थानबाहेक बाटोमा जबरजस्ती तेस्र्याएर राखिएका सवारी साधनहरू हामीले उठाउने गरेका छौं । यसो गर्दा दुई वटा गाडीले दैनिक ५०–६० वटा मोटरसाइकल उठाउने गरेको छ ।

व्यस्त स्थानमासकेसम्म पार्किङ नै नहोस्, भए पनि कम होस् भन्ने हाम्रो चाहना हो । व्यस्त सहरमा पार्क गर्न नै नदिने, दिनु नै प¥यो भने पैसा तिरेर मात्रै पार्किङको सुविधा दिने व्यवस्था काठमाडौंमा मात्रै हैन विश्वको धेरै सहरमा छ ।

तर, यहाँ अत्यावश्यक स्थलमा पनि पार्किङ सुविधा छैन । जस्तो कि अस्पतालमा । बिरामी र बिरामीका आफन्त अस्पताल जाँदा बाटोमा नै पार्किङ गरेर भित्र जानुपर्ने अवस्था छ ।

काठमाडौँमा भएको अस्पतालमध्ये आफ्नै पार्किङ भएको नर्भिक मात्रै हो । त्यहाँ पनि सीमित छ । देशकै ठूलो र पुरानो वीर अस्पतालको समेत आफ्नै पार्किङ छैन । भएको सानो पार्किङ स्थलमा पनि अस्पतालको कर्मचारीको लागि मात्रै भनेर छुट्टयाइएको छ ।

हामीलाई जहिले पनि अस्पताल बाहिरको सवारीसाधन किन उठायौ भनेर आरोप आउने गरेको छ । तर हामीलाई अस्पताल प्रशासनले नै ‘वरिपरिको सबै पार्किङ क्लियर गरिदिनुस्’ भन्छन् । अस्पतालले भने पछि हामीले उनीहरूको कुरा मान्नै पर्‍यो । भर्खरै बनेको ट्रमा सेन्टरको समस्या पनि त्यही हो ।

यी कुरा त सरकारी अस्पतालको भयो । प्राइभेटको अवस्था झन् विकराल छ । आफूले कुनै सेवा दिएको छ भने त्यहाँ पार्किङको पनि व्यवस्था मिलाउनु पर्‍यो ।

सरकारी कार्यालयमा पनि पार्किङको समस्या उस्तै छ । काठमाडौँको जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालतमा नै पनि पार्किङको सुविधा छैन ।

भएका केही कार्यालयले पनि ‘कर्मचारी मात्र’ भनेर लेखेका छन् । के ती कार्यालयमा कर्मचारी मात्रै जाने हो ? सरकारी निकायले कर्मचारी मात्र पार्किङ भन्न पाउँछ ?

सीमित जनशक्ति, कार्यक्षेत्र धेरै
नगर प्रहरीको कूल दरबन्दी ३३४ जनाको छ तर, हामी १७५ जनामा सीमित छाैं । जनशक्ति कम भए पनि खटिनुपर्ने कााम अनेकन् छन् । सुरुमै भनौं, कम जनशक्ति भएकै कारण हामी निर्धो र कमजोर भएको महसुस गरिरहेका छौं ।

सडक पेटी अतिक्रमण भएको स्थानमा जाँदा होस् या निषेध गरिएको स्थानमा पार्किङ गरिएको सवारीसाधन हटाउँदा, सीमित नगर प्रहरी सीमित मात्रै जान सक्छौं । त्यसो हुँदा अर्को पक्ष बलियो हुन्छ । यस्तो बेला कर्तव्य निर्वाह गर्न पनि समस्या पर्ने गरेको छ ।

न बढुवा, न प्रोत्साहन

सरकारी सेवामा समय सापेक्ष रूपमा बढुवा भइरहनु पर्ने हो । संगठनलाई जीवन्त बनाउन पनि बढुवा आवश्यक हुन्छ । अझ प्रहरी जस्तो विभिन्न दर्जा हुने क्षेत्रमा त समय–समयमा विभिन्न दर्जामा जनशक्ति भर्ना पनि भइरहनु पर्ने हो । हाम्रोमा भने ठूलो अन्तरालपछि एक ‘लट’ भर्ना गरिन्छ । त्यति नै हो ।

०५० मा पहिलो पटक भर्ना भए । त्यसको ८ वर्षपछि २०५८ सालमा दोस्रो पटक भर्ना भए । र, अन्तिममा २०७३ सालमा भर्ना भए । यति ढिला नयाँ जनशक्ति भर्ना गरे पछि उनीहरूको सन्तुलन कसरी हुन्छ ?

२०७३ मा अन्तिम पटक भर्ना हुँदा कूल ३३४ जनाको कोटा भए पनि २१९ जना मात्र भर्ना भए । अहिले त त्यो संख्या पनि घटेर १७५ जनामा सीमित भएको छ । बाँकी कतिले जागिर छोडे । धेरै जना ‘रिटायर्ड’ भएर पनि फर्किए । कति प्रहरीको पेसा छाडेर अन्य पेसा अँगालेका छन् । यही वर्ष पनि ५–६ जना ‘रिटायर’ हुँदैछन् ।

स्थानीय सरकार बनेपछि त महानगरप्रति स्थानीयहरू आकांक्षा झन् बढेको छ । तर, काम गर्ने जनशक्तिको अभाव छ । आम मानिस महानगरमा गएपछि काम हुनुपर्छ भन्ने मानसिकतामा छन् । हामीसँग भने क्षेत्राधिकार र कानुनको अभाव छ । त्यसैले सोचअनुसार काम गर्न सकिएको छैन ।

सहरी क्षेत्रमा धेरै प्रकारका बाधा–व्यवधान हुन्छन् । त्यसलाई हल गर्न नगर प्रहरीको व्यवस्था गरिएको हो । तर गर्नुपर्ने जति काम गर्न सकिएको छैन । साँझ–बिहानको कार्यतालिका मिलाएर काम गर्दै आएका छौं । समस्या विभिन्न क्षेत्रबाट पैदा भएका छन् । तर, गाली भने हामीले खानुपर्छ ।

 

सम्बन्धित समाचार

( महानगर वेथितिको सम्पुर्ण शृंखला पढ्न यहाँ क्लिक गर्नुहोस् )